हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर माघ २१ गते २०८०
भक्तपुर नगरपालिकाको आयोजनामा २०८० माघ २१ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल खेल प्रतियोगिताको उद्घाटन आइतबार सहिदस्मृति खेलमैदानमा सम्पन्न भयो ।


कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले खेलकुद स्वास्थ्यको निम्ति हो खेलकुदले जीवनमा सकारात्मक उर्जा प्रदान गर्ने बताउनुभयो ।  अध्यक्ष्य बिजुक्छेंले खेलाडीहरुलाई खेलले अनुशासित बनाउने हुनाले भक्तपुर नगरपालिकाले हरेक वर्ष निरन्तर आयोजना गरिरहेको विद्यालयस्तरीय खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको व्यक्तित्व विकास, अनुशासन र मित्रताको लागि थप उर्जा दिने बताउनुभयो । उहाँले खेलाडीहरु देश र जनताप्रति समर्पित हुने प्रतिबद्ध हुनुपर्ने विचार व्यक्त गर्नुभयो । 


उहाँले खेलकुदमा गरेको लगानी कहिल्यै खेर नजाने भन्नुहुँदै ब्यक्तिको नाममा दर्ता नभएको जग्गा सरकारको हुन्छ र शहिद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणको लागि टगारो हाल्ने प्रतिगामी कदमलाई जनस्तरबाट विरोध गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 
उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता खेलकुद महोत्सवको रुपमा सञ्चालन हुँदै आएको बताउँदै यस प्रतियोगितामा भक्तपुरका ७५ वटा विद्यालयका २२०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको जानकारी गराउनु भयो ।

उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगसँगै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै खेलाडीहरुलाई अवसर प्रदान गर्न हरेक वर्ष विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गर्दै आएको बताउँदै नियमित खेल प्रशिक्षण र समय समयमा खेलकुद सामग्री वितरण गर्दै आएको पनि जानकारी दिनुभयो । सात दिनसम्म सञ्चालन हुने विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आयोजनाले १० वटै वडामा १५ वटा खेलकुदका गतिविधि हुने र पूरै नगर खेलकुदमय भई यो सातालाई खेलकुद महोत्सवको रुपमा मनाइने नगरप्रमुख प्रजापतिले जानकारी दिनुभयो । 
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुर नगरपालिकाले खेलकुदलाई महत्व दिंदै नगरभित्र रहेका ७५ वटा विद्यालयहरुलाई प्रतियोगितामा समावेश गराउन सफल भएकोमा खुशी व्यक्त गर्नुहुँदै आगामी दिनमा नगरपालिका भित्रको ९० वटै विद्यालयहरुलाई सहभागी गराउन प्रयास गर्नुपर्ने बताउनुभयो ।

उहाँले खेलकुदले विद्यार्थीहरुको जीवनलाई सकृय बनाई शारिरिक र मानसिक रुपमा तन्दुरुष्ट बनाउने तथा विद्यार्थीहरुको सर्वागि विकासमा मद्दत पु¥याई देश विकासमा खेलकुदले महत्वपूर्ण योगदान पु¥याउने विचार व्यक्त गर्नुभयो ।  
भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक तथा वडा नं. १ का वडाध्यक्ष्य श्यामकृष्ण खत्रीले १५ विधाका विभिन्न खेलकुद प्रतियोगिताल २०८० माघ २१ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन हुने एक हप्ता सिंगो भक्तपुर नगरपालिका खेलकुदमय हुने बताउनुभयो ।


भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले खेलको माध्यमबाट नगरलाई चिनाउन विद्यालयस्तरीय खेलकुद प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने हुनाले खेलकुद पूर्वाधारको विकास गरी देशको लागि योग्य नागरिक बनाउन भक्तपुर नगरपालिकाले समय समयमा खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा खेलाडीको तर्फबाट टेबुल टेनिस खेलाडी लिब्सा सुवाल र रेफ्रीको तर्फबाट श्रीप्रसाद कोजूले प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गर्न सपथ लिएका थिए । उद्घाटन कार्यक्रममा जिम्न्यास्टिक खेलाडीहरुले खेल प्रदर्शन गरेका थिए ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).