हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर, माघ २९ गते २०८०
मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा आज (सोमवार)देखी शुरु भएको छ । प्रतियोगितामा वडा नं. ९ ले वडा नं. ४ लाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । दोस्रो संस्करणमा साविक विजेता वडा नं. ९ ले विजयी शुरुवात गरेको छ । वडा नं. ९ को जितमा विज्ञान राजबहाक नायक बने । राजबहाकले खेलको  ८८ औं मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाएका थिए । खेल बराबरीतर्फ उन्मुख भइरहेको अवस्थामा वडा नं. ४ का खेलाडीको गल्तीको फाइदा उठाउँदै वडा नं. ९ का सगुन राजबहाकले दिएको पास सदुपयोग गर्दै विज्ञानले गोल गरेका हुन । खेलको म्यान अफ दि म्याच पनि विज्ञान घोषित भए । यसअघि खेलको उद्घाटन भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले गरेका थिए । उहाँले मध्यपुर थिमि वडा लिगबाट उत्कृष्ट खेलाडी उत्पादन हुने र राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा ख्याती प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । माननीय थापाले प्रतियोगिताले मध्यपुर थिमिलाई खेलकुदको माध्यमबाट चिनाउन लिग सफल हुनेमा समेत विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सानोथिमिस्थित मैदानलाई नगरपालिकाको रंगशालाको रुपमा विकास गर्ने र अर्को वर्षसम्म दर्शकको सुविधाको लागि प्याराफिट निर्माण गर्ने योजना रहेको बताउँनुभयो । उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुर थिमि विगतमा पनि विभिन्न खेलको राष्ट्रिय खेलाडी उत्पादन गरेको नगर भएको चर्चा गर्दै खेल क्षेत्रको विकासका लागि नगरपालिकाले ठूलो लगानी गरिरहेको बताउनुभयो । मध्यपुर युथ एशोसियसनका अध्यक्ष एवम् फुटबलका पूर्व राष्ट्रिय कप्तान तथा गोलकिपर उपेन्द्रमान सिंहले वडा लिग मध्यपुर थिमिका स्थानीय खेलाडीलाई राष्ट्रियस्तरमा पुग्ने अवसरको रुपमा रहेको बताउनुभयो । एशोसियसनका उपाध्यक्ष अष्ट कवेको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठ, नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठलगायतले खेल मैदानलाई थप व्यस्थित गर्नुपर्नेमा जोड दिएका थिए । प्रतियोगितामा मध्यपुर थिमि नगरपालिकाका ९ वटा वडाका ९ टोलीको सहभागीता रहेको छ । सिंगल राउण्ड रोविन लिगका आधारमा खेलाईने प्रतियोगितामा सहभागी टोलीले एक आपसमा ८ खेल खेल्नेछन र कुल ३६ खेल सञ्चालन हुने प्रतियोगिताको प्राविधिक समितिका संयोजक उपेन्द्रमान  सिंहले बताए । फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितोमा शिर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).