हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर चैत्र ४ गते २०८०
होलि पुर्णिमाको एक साता अघिको दिन सिल्लागा अष्टमीका दिनलाई भक्तपुरमा नेपाल भाषाबाट चिर स्वायगु (चीर चिरोठान) गर्ने पर्व लोप हुने अवस्थामा पुगेको छ । बिगतका दिनहरुमा आजको दिन बिहान भिमसेनको लग (लिङ्ग)को रुपमा बिषेश काठ (चाःसीं) बाट बनेको करिव ५० किजीको लिङ्गलाई दूई जनाले बोकेर कमल पोखरीमा लगेर स्नान गराई भूई सिन्हँ (सिंदुर) दलेर नगरको बिभिन्न टोलमा घुमाई दर्शन गराउने परम्परा यो बर्ष बन्द भएको छ ।

सो जात्राको लागि राखिएको आस्था गुठी, दाफा, वा भजन खलहरु समेत आज भोली बन्द भएको अवस्था छ । केही बर्ष अगाडी सम्म पनि सो लिङ्गलाई दुई जनाले बोकेर बजार परिक्रमा गराउने गरिन्थ्यो । आज भोली लाजले हो या व्यस्तताले हो बोकेर बजार परिक्रमा गर्ने मान्छे नै पाउन छोडेका छन् । यस्तो एैतिहासिक पर्वलाई स्थानीय सरकारले बिषेश पहल गर्नु पर्ने जरुरी रहेको जनगुनासो आईरहेको छ भने स्थानीय सरकार बिषेश चासोका साथ हेर्नु पर्ने देखिन्छ ।  


होलि पुर्णिमाको एक साता अघिको दिन आजा आईतवार सिल्लागा अष्टमीका दिनलाई भक्तपुरमा नेपाल भाषाबाट चिर स्वायगु (चीर चिरोठान) भनिन्छ । यसै दिन देखि फागु पुर्णिमा (होलि पुर्णिमा) को औपचारिक सुरुवात भएको मानिन्छ । आजको दिन भक्तपुरको तचपाल टोलको दत्तात्रय मन्दिर अगाडि रहेको तचपाल भिमसेन मन्दिरको पाटिमा चिर स्वायगुू भन्ने विशेष मेला लाग्ने गर्दछ । यसदिन सयौं बर्ष पुरानो (चासीं) काठबाट बनेको भिमसेनको लिङ्गलाई भिमसेन मन्दिरबाट निकाली बिहान दुई जनाले काँधमा बोकेर कमल विनायक पोखरीमा स्नान गराएर नगरको बिभिन्न टोलहरु इनाचो, वाँचुटो। जेलाँ, सोंगल्हों सुकुलढोका, लालाछेँ, याछेँ हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवम् पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याइने छलन छ ।

उक्त लिङ्गलाई भिमसेन पाटीमा एक साता सम्म राख्ने गर्दछ । लिङ्गसंगै रातो कपडा पनि झुन्डिएको हुन्छ । उक्त कपडालाई द्रोपदीको योनीको प्रतीक मानिन्छ । लिङ्गलाई थेलेर उक्त कपडामा छीराउनाले सन्तान प्राप्ती हुन्छ भने जनबिश्वास रहि आएको छ । उक्त काठको लिंगलाई स्थानीय भाषामा ‘लग’ भनिन्छ । यसदिन देखि होलीको एउटा बिषेश गीत गाउने गर्थे नेपाल भाषाबाट भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् भीमसेनको लिंगदेखि मोह जाग्यो कि, भाग्नुपर्ने गरी हेर्न आएको होे कि’ भनेर भजन–कीर्तन गर्थे । एक साता पछि होली पुर्णीमाको दिन साँझ उक्त लिङ्गलाई ब्रम्हायणीको खोलामा लगेर पखाले पछि होली पर्व विधिवत् रुपमा विसर्जन हुने परम्परा रहेको छ । पखालेर पुनः मन्दिर मई ल्याएर राख्ने चलन छ । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).