2024-12-29 04:45:51
चाँगुनारायण न.पा.द्वारा पुस २० गते ताथली फाँटमा प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्ने ।
भक्तपुर, पुष १४ गते २०८१
चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगिता २०८१ यही पुष २० गते ताथलीमा गर्ने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरि चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली फाँटमा सो प्रतियोगिता गर्ने नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बताउनुभयो । सो प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख खत्रीले उक्त प्रतियोगिताको तयारी व्यापक गरिरहेको पनि जानकारी दिनुभयो ।चाँगुनारायण नगरपालिकामा रहेका मूर्त अमूर्त सम्पदा संरक्षण र प्रवर्द्धनमा सहयोग पुर्याउन तथा नगरपालिकाले आगामी २०८२ मा गर्न लागेको नगरकोट भ्रमण वर्षलाई वडा तहसम्म पुर्याउनका लागि प्रथम पटक वडा नं . ९ मा धिमय् बाजा प्रतियोगिता गर्न लागेका हौं बताउँदै नगरकोट भ्रमण वर्षको पूर्वसन्ध्यामा हुने यो प्रतियोगिताले भ्रमण बार्षको प्रचारप्रसार गर्न पनि सहयोग पुग्नेछ । सो प्रतियोगितामा विजेता टोलीलाई नगद रू. ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमे बाजा, २ थान भुछ्या र सिछ्या प्रदान गरिनेछ भने द्वितीयलाई रु. २५,००० सहित शिल्ड र प्रमाणपत्र धिमे बाजा १ थान भुछ्या १ थान, सिछ्या १ थान र तृतीयलाई रु. १०,००० सहित शिल्ड र प्रमाणपत्र धिमे बाजा १ थान भुछ्या १ थान प्रदान गर्ने छ भने सान्त्वनालाई रु. ५,००० सहित शिल्ड र प्रमाणपत्र धिमे बाजा १ थान, उत्कृष्ट प्रस्तुति निर्णायक छनोटलाई धिमे बाजा १ थान, उत्कृष्ट छैटौंदेखि १० औं स्थानसम्मका लागि भुछ्या १, १ थान र सहभागी प्रत्येकलाई मायाको चिनोको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातको संयोजकत्वमा प्रतियोगिता समन्वय समिति गठन गरिएको सो प्रतियोगितामा सहभागी हुन प्रति समूह दर्ता शुल्क १ हजार रूपैयाँ निर्धारण गरेको छ । प्रतियोगितामा नेवारी खाजा तथा खाना फेस्टिभल विशेष आर्कषकको रुपमा रहने आयोजकले जनाएको छ । सो पत्रकार सम्मेलनमा चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता एवम् चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जनक खत्रीले धिमे बाजा प्रतियोगिताले समग्र नगरपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभएको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि ११ लाख रुपैयाँको बजेट अनुमानित गरिएको छ। प्रतियोगितामा काठमाडौं उपत्यकाका साथै काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, नुवाकोट, धादिङ लगायतका जिल्ला र ती जिल्लाका नगरपालिका, गाउँपालिकाबाट गरी करिब ५० वटा टोलीको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ ।











0 Comments