हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर जेठ ६, २०८२ 
भक्तपुर नगर पालिका वडा नं. ४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरको नगरपालिकाको कुल लागत इष्टमेट रु. ७ करोड ७७ लाख रहेकोमा रु. ४ करोड ८३ लाख खर्चमा पुनःनिर्माण कार्य सम्पन्न गरि आज उद्घाटन गरिएको छ । 


नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको बजेटमा पुनःनिर्माण गरिएको भनपा वडा नं.४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरको मंगलवार उद्घाटन तथा शिलापत्र अनावरण गर्नुभयो । सोही समारोहमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित लक्ष्मीनरसिंह मन्दिरसम्बन्धी महत्वपूर्ण विवरण संग्रहित ‘लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण २०८२’ पुस्तक र लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणको प्राविधिक प्रतिवेदन पनि सार्वजनिक गर्नुभयो । कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले ९० सालको भूकम्पले पूर्ण क्षति पु¥याएको मन्दिर पुनःनिर्माणमा सहयोगी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै जनताको एकताले नमुना र उदाहरणीय काम गर्न सकिने उदाहरण भक्तपुरले दिएको बताउनुभयो । नरसिंह शक्तिको प्रतिक हो, लक्ष्मीसहितको नरसिंहले सन्तुलनको प्रतिक दर्साउने बताउँदै उहाँले शक्तिको आडमा मात्र विजय हासिल हुने कुरा सत्य नभएको बताउनुभयो । कला संस्कृति संरक्षण र सम्बद्र्धन आफैमा सेवामुखी काम भएको बताउँदै अध्यक्ष बिजुक्छेँले सबै जनताले स्वयम्सेवी भावनाले मन्दिर पुनःनिर्माणमा खटिएकै कारण भव्य निर्माण सम्भव भएको बताउनुभयो । कला संस्कृति संरक्षण र सम्बद्र्धनसँगै भक्तपुरका डकर्मी, सिकर्मी र विविध क्षेत्रका कलाहरुले आफ्नो शिल्प र मेहेनत प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको बताउँदै उहाँले सम्पदा पुनःनिर्माणको काम ठेक्कामा दिन नहुनेतर्फ सबै सचेत हुन आवश्यक भएको बताउनुभयो ।
भक्तपुरका जनताबीचको एकता तथा आपसी सहयोगको भावना नै भक्तपुरको विशेषता बन्दै गइरहेको अध्यक्ष बिजुक्छेँले बताउनुभयो । 


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लक्ष्मीनरसिंह मन्दिर २०७२ सालको भूकम्पपूर्वको भन्दा निकै फरक मल्लकालिन मौलिक स्वरूपमै मन्दिरको पुनःनिर्माण गरिएको बताउनुभयो । मन्दिर पुनःनिर्माणको लागि भक्तपुर नगरपालिकाले रु. ७ करोड ७७ लाख लागत इस्टमेट पारित गरेकोमा उपभोक्ता समितिमार्फत रु. ४ करोड ८३ लाखमा पुनःनिर्माण सम्पन्न भएको नगर प्रमुख प्रजापतिले जानकारी गराउनुभयो । विदेशीको सहयोगविना नै २०७२ सालको भूकम्पपछि तहसनहस भएका सयौ सम्पदाहरू आफ्नै बलबुट्टामा पुनःनिर्माण र जीर्णोद्धार गर्न सफल हुनु भक्तपुरको गौरव बनेको बताउँदै उहाँले भक्तपुरको महत्वपूर्ण सम्पदा संक्षणमध्ये लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण पनि एक हो भन्नुभयो ।
    भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन सँगै देशको आर्थिक विकासमा पनि उल्लेखनीय भूमिका खेल्दै आएको बताउँदै विनासकारी भूकम्पले सम्पदामा क्षति पु¥याए पनि जनताले यसलाई पुनः पुरानै शैलीमा पुनःनिर्माण गर्नु पनि ठूलै उपलब्धी भएको बताउनुभयो ।
    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले सम्पदा पुनःनिर्माणमा परम्परागत सीप, प्रविधि, स्वरुप र सामाग्री प्रयोग हुनु भक्तपुरको सराहनीय काम भएको बताउँदै सम्पदा पुनःनिर्माणसँगै सदियौ ंदेखिको हाम्रो पहिचान र परिचय पनि जोगिएको बताउनुभयो । उहाँले नेपालमा हरेक १०० वर्षमा ठूल्ठूला भूकम्प जाने गरेको बताउँदै सम्पदाहरुको समय सापेक्ष ढंगले जीर्णोद्धार र मर्मत सम्भारमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । २०७२ सालको भूकम्पपश्चात पुरातत्व विभागले ८१५ वटा सम्पदाहरु बनाइसकेको बताउँदै विभागले सम्पदा प्रभाव मूल्यांकन सम्पन्न गरेर मात्र सम्पदा पुनःनिर्माण कार्यलाई अगाडि बढाउँदै आएको महानिर्देशक प्रधानांगले बताउनुभयो ।
इतिहासविद् प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठले मौलिक स्वरुप गुमाइसकेको मन्दिरले पुनःजीवन पाउनु आफैमा ठूलो उपलब्धी भएको बताउँदै जनप्रतिनिधि र जनताको एकताले नै यो सम्भव भएको बताउनुभयो । भक्तपुर नपाले मूर्त र अमूर्त सबै खाले सम्पदाहरुलाई पुनःर्जीवित गर्ने काम गर्दै आएको बताउँदै सम्पदा पुनःनिर्माणसँगै दस्तावेजीकरणलाई पनि प्राथमिकताका साथ अगाडि बढाउनु भक्तपुर नपाको अर्काे उल्लेखनीय विशेषता रहेको बताउनुभयो ।
    लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण प्राविधिक समितिका संयोजक एवम् ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले मन्दिर पुनःनिर्माणको काममा संलग्न हुन पाउनु आफैमा गौरवको विषय हो भन्दै लक्ष्मीनरसिंहको पुरानो मन्दिरको सीमित जानकारी बीच पनि अन्य मन्दिर अध्ययन अनुसन्धान गर्दै यसको प्राविधिक कार्य अगाडि बढाइएको बताउनुभयो । मन्दिर पुनःनिर्माणका क्रममा स्थानीय कालिगडबाट नयाँ र परम्परागत ज्ञान हासिल गर्ने अवसर प्राप्त भएको उहाँले बताउनुभयो ।
    कार्यक्रममा लक्ष्मीनरसिंह मन्दिर उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेले मन्दिर पुनःनिर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । मन्दिरको कुल लागत इष्टमेट रु. ७ करोड ७७ लाख रहेकोमा रु. ४ करोड ८३ लाख खर्चमा पुनःनिर्माण कार्य सम्पन्न भएको थियो । उक्त मन्दिरका लागि २२ लाख ६६ हजारभन्दा बढी नगद सहयोगस्वरुप प्राप्त भएको र ७५० जनाभन्दा बढीले श्रमदान गरेको थियो भने लाखौ रुपैयाँ बराबरको जिन्सी सहयोग प्राप्त भएको मन्दिर पुनःनिर्माण उपभोक्ता समितिले जनाएको छ । लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणसँगै तःमारी र गःहिटी क्षेत्रको आकर्षण थप बढेको छ ।
कार्यक्रमा प्रमुख अतिथि नारायणमान बिजुक्छेँले मन्दिर पुनःनिर्माणका डकर्मी जगतराम न्हिसुतु र  सिकर्मी नाइके बलराम शिल्पकारलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।
    
    




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).