हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर, असार ११ गते २०८२
आज असार ११ गते तिथि अनुसार असार शुक्लपक्ष प्रतिपदा नेपाल सम्वत ११४५ आज भक्तपुरको बिश्व प्रसिद्ध ङातापोल्ँह (पाँचतले) मन्दिर को ३२२ बर्ष पुरा भई ३२३ बर्षबन्ध (बुसादाँ) मनाएको छ । प्रत्येक बर्ष असार शुक्लपक्ष प्रतिपदामा ङातापोल्हँ मन्दिरको बिशेष पुजा गरी मन्दिरको गजुरमा झण्डातोलन गर्ने परम्परा छ । आज बोका बली दिई बिशेष तान्त्रिक पुजा गरि झण्डातोलन गरि मनाएको पुजारी पदम कार्माचारले बताउनु भयो । मन्दिरमा पुजा गर्न राजउपाध्याय, कार्मचार्य, जोशी, र ताल्चाभडेल पुजारीहरुले पुजा गर्ने परम्परा रहिआएका छन् ।


तुछिमला टोलका अवालहरुले मन्दिरको गजुरमा झण्डा फहराउने गरीन्छ । मन्दिरमा झण्डा राख्नको लागि तुछिमलाको अवालबाहेक अरुलाई मन्दिर माथि प्रवेश नदिने परम्परा चलिआएको छ । प्रत्येक बर्ष झै यो बर्ष पनि करिव एक दर्जन भन्दा बढी अवालहरु मन्दिरमा माथि गएर गजुरमा झण्डा फहराएको थियो । सो झण्डा राख्नको लागि चार जना गजुरको चार कुनामा बसेर बानेका थिए । करिव २५,३० फिटको हाँगा सहितको बाँसमा लम्वाई ६६ ईन्छ र चौडाई ४४ ईन्चको कपडाको झण्डा फहराइएको थियो । यस्तो ज्यान जोखिममा पारेर काम गर्नु पर्ने अवालहरुलाई भक्तपुर गुठी सँस्थानले आर्थिक सहयोग गरिआएको छ । नेपाल सम्वत ८२२ मा भुपतेन्द्र मल्ल राजाले असार शुक्लपक्ष प्रतिपदाका दिन पहिलो बर्षबन्ध (बुसादाँ) पुजा शुरु गरेको थियो भने यो कार्य अहिले सम्म निरन्तर गर्दै आएको संस्कृतिविदहरुको भनाई छ । 
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).